मुग्लिन नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन २ करोड ६९ लाख विनियोजन

तनहुँ | फागुन १५, २०८१

मुग्लिन नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन २ करोड ६९ लाख विनियोजन

तनहुँ:  मुग्लिन–नारायणगढ खण्डको वैकल्पिक सडकको ‘ट्रयाक’ खोल्ने कार्य सुरु भएको छ । हाल सञ्चालनमा रहेको उक्त सडकको वैकल्पिक मार्गका रुपमा मुग्लिन–गाईघाट–दासढुङ्गा–ठिमुरा–गैँडाकोट सडकको ‘ट्रयाक’ खोल्ने कार्य सुरु भएको हो ।


उक्त कार्यका लागि सडक विभागले चालु आर्थिक वर्षमा रु दुई करोड ६९ लाख ३२ हजार विनियोजन गरेको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पुलजीपबाट उक्त सडकको ट्रयाक खोल्ने काम भइरहेको छ । 


मुग्लिन नारायणगढ सडकको विकल्पमा मुग्लिनबाट गाईघाट, दासढुङ्गा, ठिमुरा, देवघाटको देवपुर हुँदै नवलपुरको गैँडाकोट जोड्ने सडकको विस्तृत अध्ययन ९डिपीआर०पश्चात् सडक विभागले पहिलो चरणको ठेक्का लगाएको हो ।


देवघाटका स्थानीयवासी केशवचन्द्र न्यौपानेले यहाँका स्थानीयले पटक–पटक उठाउँदै आएको माग सरकारले पूरा गरेको बताउनुभयो । मुग्लिन नारायणगढ सडकखण्डको विकल्पका रुपमा वैकल्पिक सडक निर्माणका लागि आवाज उठाउँदै आएकामा उक्त माग सुनुवाइ भएको उहाँको भनाइ छ । 


नवलपुरको गैँडाकोट नगरपालिका–३ ब्रिटिसक्याम्प र देवघाट गाउँपालिका–५ देउपुर हुँदै दासढुङ्गा जोड्ने वैकल्पिक सडक र उक्त बाटो हुँदै दासढुङ्गादेखि मुग्लिनसम्म तनहुँतर्फ त्रिशूलीको किनारमा वैकल्पिक मार्ग आवश्यक भएको जनाउँदै सम्बन्धित निकायमा स्थानीयवासीले माग गरेका  थिए । 


उक्त वैकल्पिक सडकका लागि विगतमा सरकारको नीति तथा कार्यक्रममा समावेश भइ अध्ययनका लागि बजेट विनियोजन भए पनि पछि सरकारले उक्त योजना रद्द गरेको थियो । उक्त सडक निर्माण गर्न सके देवघाटको गाउँपालिका आर्थिक र धार्मिक पर्यटनको केन्द्र बन्ने हुँदा यसका लागि गाउँपालिकाले पहल थाल्ने देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताउनुभयो । 


हाल देवघाट गाउँपालिकालाई राष्ट्रिय राजमार्गले नछोएको हुँदा गैँडाकोटबाट देवघाट हुँदै दासढुङ्गा जाने सडक निर्माण गर्न सके देवघाटमा धेरैभन्दा धेरै पर्यटक भित्रिने र देवघाटको धार्मिक पर्यटनको विकास हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । 


हाल सञ्चालनमा रहेको मुग्लिन–नारायणगढ सडकमा वर्षाको समयमा पहिरो गएर समस्या भोग्नुपरेकाले वैकल्पिक सडक अति आवश्यक रहेको स्थानीयवासीको भनाइ छ । 


देवघाट गाउँपालिका–५ का वडाध्यक्ष पूर्णबहादुर कुँवरले तनहुँतर्फ अर्को राष्ट्रिय सडक निर्माण गर्न सकेमा हाल विकासमा निकै पछाडि परेको देवघाट र आँबुखैरेनी गाउँपालिकाका धेरै बस्तीलाई विकासको मूलधारमा ल्याउन सकिने बताउनुभयो । वैकल्पिक सडक बनाउन प्रस्ताव गरिएको गैँडाकोटदेखि मुग्लिनसम्म करिब ३८ किलोमिटरको दूरी पर्छ । 

म्याग्दी:  वारि भाइरल रत्नेचौर गाउँ । पारिपट्टि धामिर्क तथा कृषि उत्पादनको क्षेत्र भनेर चिनिने बागलुङको कुडुले गाउँ । म्याग्दी र बागलुङको साँध बनेर बगेको ढोडेनी खोलाका वारि र पारि पर्ने यी दुवै गाउँ पर्यट...

थप पढ्नुहोस्

गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुधन गुरुङ विजयी भएका छन् ।   मतगणनाको अन्तिम नतिजाअनुसार उनी र अन्य दलका उमेदवारबीच फराकिलो मतान्तर देखिएको छ ।   उनले २९ हजार ८९६ मत...

थप पढ्नुहोस्

पोखरा:   निवर्तमान शिक्षामन्त्री तथा नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो किताब बेच्ने अभियानलाई निरन्तरता दिएका छन् ।   प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि म्याग्दी पुगेका उनले केही समयका...

थप पढ्नुहोस्